नेपालगञ्ज, बैशाख १०
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहँदा त्यसको इपिसेन्टरका रुपमा बाँके देखिन थालेको छ । बिहीबार ४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार जिल्लाका विभिन्न तीन वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा ३८८ जना संक्रमित फेला परेका हुन् ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गरिएका २७६ जनाको नमूनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएका १०७ जनाको नमूनामा ७३ जना, बागेश्वरीको प्रयोगशालामा परीक्षण गरिएका ७४ जनाको नमूनामा ५९ जना र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण फेला परेको फोकल पर्सन वलीले जानकारी दिनुभयो । संक्रमित अधिकांश बाँके जिल्लाका छन् ।
संक्रमित थपिएपछि त्यहाका अस्पतालको बेड भरिभराउ छन् । नयाँ बिरामीले बेड पाउन पुराना विरामी डिस्चार्ज वा मृत्यु नै हुनुपर्ने दुखद अवस्था सिर्जना भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका बिरामीले भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै बेड पाउने अवस्था आएको छ ।
अस्पतालमा रहेको १ सय ४२ बेड भरिभराउ भएपछि यस्तो अवस्था आएको हो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले एक सय ४२ बेड भरिएर राख्न मिल्ने ठाउँहरुमा एस्ट्रा बेड राखेर पनि भरिसकेको जानकारी दिनुभयो । ‘अब त कुनै बिरामी डिस्चार्ज नभएसम्म नयाँ बिरामीलाई लिने ठाउँ नै छैन’, मेसु डा. थापाले भन्नुभयो, ‘पालो कुर्ने अवस्था पनि छैन ।’













प्रतिक्रिया दिनुहोस्