जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १७:४६

परीक्षणमध्ये २६% मा संक्रमण, आज मात्रै थपिए २५५९ संक्रमित, ५ को मृत्यु


काठमाडौं, बैशाख १०

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण भएकोमा २५ सय ५९ जनालाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७ सय ९८ जनाको पीसीआर परीक्षणमा २४ सय ५९ जना र ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनाको पोजेटिभ देखिएको हो ।

आज पाँच जनाको मृत्यु भएको छ भने ४१० जना निको भई डिस्चार्ज हुनुभएको छ । निको हुने दर ९३.९ प्रतिशत पुगेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ७६०, ललितपुरमा १०६ र भक्तपुरमा ७४ जना गरी ९४० जना संक्रमित थपिएका छन् । थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ । क्वारेन्टाइनमा ७५ जना छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १७३ र भेन्टीलेटरमा ५७ जना उपचाररत रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । हालसम्म देशमा २ लाख ९४ हजार ६०१ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।