जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १७:०८

किर्तिमान नै किर्तिमानसँगै नेपाललाई त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला


काठमाडौं, बैशाख ११

नेपालले किर्तिमान नै किर्तिमानसँगै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला जितेको छ । फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । साथै ११ वर्षपछि नेपालले पहिलो उपाधि जित्न सफल भएको छ । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको छैन ।

नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ विकेट गुमाइ २ सय ३८ रन बनाएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोरको जबाफमा आएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमै समेटियो ।

नेदरल्यान्ड्सलाई सानो स्कोरमा समेट्नेक्रममा करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । दुई ब्याट्सम्यान रन आउट भएका थिए । करणले ३ ओभरमा ११ रन खर्चे । कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चेका थिए । नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए ।

यसअघि नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याएका थिए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

उनका ओपनिङ जोडी आसिफ शेख २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।