जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १८:४८

पहिलो पटक नेपालमै अंगको क्रस म्याच गर्ने (एचएलए) मेसिन


काठमाडौं, बैशाख ११

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवम् वरिष्ठ मृगौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. प्रेमराज ज्ञवालीले मृगौलाको प्रत्यारोपण गर्न अनिवार्य चाँहिने एचएलए मेसिन नेपालमा आएको बताउनुभएको छ । उहाँले अंगको क्रस म्याच गर्ने मेसिनलाई एचएलए भनिने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘प्रत्यारोपण गर्दा एक व्यक्तिको मृगौला अर्को व्यक्तिको शरीरमा राखिन्छ। कुनै पनि व्यक्तिको ‘ओ’ समूहको रगत अर्को ‘ओ’ समूहै भएको व्यक्तिमा चडाउँदासमेत रियाक्सन हुन सक्छ । उसको शरीरले त्यो रगत नलिन सक्छ, त्यस्तै कुनै दाताले मृगौला दिए पनि लिने मान्छेको शरीरले लिन्छ कि लिँदैन, उसको शरीरले लिएको मृगौला फाल्नसक्ने अवस्था कति छ भनेर जाँच्ने एक किसिमको परीक्षण हो एचएलए प्रविधि ।’

यसअघि नेपालमा मृगौला प्रत्यारोपणका लागि एचएलए परीक्षण गर्न भारत पठाउनुपर्ने थियो । त्यसका लागि कम्तिमा ५÷७ दिन समय लाग्ने गरेपनि हाल कोरोना महामारीका कारण २/३ हप्तै कुर्नुपर्ने बाध्यता छ र खर्च ८०/९० हजार लाग्ने गरेकोमा अब नेपालमा आधा भन्दा कम खर्च र २४ घन्टामै रिपोर्ट पाइने भएको हो ।

यता अब ब्रेन डेथ भएका व्यक्तिको अंगसमेत अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने भएको छ । नेपालमा एचएलए मेसिन नभएकै कारण ब्रेन डेथ भएका व्यक्तिको अंग अरूको शरीरमा राख्न कठिन थियो तर अब सहज हुने भएको हो । ब्रेन डेथ बिरामी भएका व्यक्तिको अंग कुन व्यक्तिलाई दिने भनेर त्यसको प्राथमिकता निर्धारण गर्नुपर्छ । प्राथमिकता छुट्ट्याउने यस मेसिनले अब कुन बिरामीमा ब्रेन डेथ भएको व्यक्तिको अंग मिल्छ त्यसको परीक्षण हुन्छ ।

यसअघि प्रविधि नहुँदा ब्रेन डेथ भएको व्यक्तिलाई १० दिनसम्म राख्नुपर्ने हुँदा परिवारलाई शव बुझाउन समेत कठिन हुने गरेको थियो । केन्द्रले मानव अंगको प्रत्यारोपण सेवा विस्तार गर्ने, ब्रेन डेथ भएका व्यक्तिको अंग अरूलाई प्रत्यारोपण गर्ने लगायतका काम गर्दै आएको छ । हालसम्म केन्द्रले ७ सय २९ जना विरामीमा मृगौला प्रत्यारोपण गरिसकेको छ। कोरोनाका कारण केही समय रोकिए पनि मृगौला प्रत्यारोपणलाई अस्पतालले निरन्तरता दिँदै आएको छ ।