जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १०:००

बाँकेमा ३ संक्रमितको मृत्यु, एकजनाले गरे आत्महत्या


काठमाडौं, १२ बैशाख

बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

मेडिकल कलेजमा कोहलपुर-१० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बतायो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले भने आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।