काठमाडौं, बैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्न नसकेको स्वीकार गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले अबिश्वासको प्रस्तावमा बहुमत पुग्ने ग्यारेन्टी नभएको निश्कर्षसहित बहुमत नपुग्दासम्म त्यसतर्फ नलाग्ने निर्णय लिएको हो ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले संसदले काम गर्न नसकेको, आफू बहुमतको प्रधानमन्त्री रहेको र अर्काे सरकार गठनको अवस्था नरहेको भन्दै पुस ५ गते प्रतिनिधिसभा बिघटन गर्नुभएको थियो । सर्वाेच्च अदालतले बहुमत कायम रहेको अवस्थामा सरकार चलाउँदिन भन्न नपाउने तर्कसहित फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । तर पुनःस्थापित संसदको अधिवेशन शोक प्रस्तावबाहेक केही पनि काम नगरी अन्त्य भएको छ । संसद पुनःस्थापना भएको दुई महिना बितेको भोलिपल्ट पनि कांग्रेसले सरकारबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउन बहुमत नपुगेको निश्कर्ष निकालेको हो ।
आज सम्पन्न पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले अबिश्वासको प्रस्ताव ल्याउन अहिलेसम्म संख्या नपुगेकोले त्यसतर्फ नलाग्ने जानकारी दिनुभयो । ‘हामीले अविश्वास प्रस्ताव ल्याउनका लागि पहल गरेका हौं तर संख्या पुगेको छैन । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं,’ बैठकको निर्णय सुनाउँदै उपसभापति निधिले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्