काठमाडौं, बैशाख १३
काठमाडौंमा कोभिडका संक्रमित बढ्न थालेपछि वीर अस्पतालले आफ्नो नयाँ भवनमा कोभिडका बिरामीमात्रै राख्ने तयारी गरेको छ । अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।
नयाँ भवनमा अहिले पनि निर्माणको कार्य चलिरहेको हुँदा ठेकेदारहरूसँग कुराकानी भइरहेको भन्दै डा. कार्कीले सकेसम्म छिटो तयार पारिने जानकारी दिनुभयो । उहाले नयाँ भवनमा कम्तीमा दुई सय बेड सञ्चालन गरिने र त्यसलाई बढाएर तीन सयसम्म पुर्याउन सकिने बताउनु भयो ।
कोभिड अस्पताल सञ्चान गर्ने तयारी भएपनि कर्मचारीको अभाव रहेको अस्पतालले बताएको छ । ‘हामीलाई अरू कुनै समस्या हुँदैन तर स्टाफ नर्स र सरसफाइ कर्मचारी अभाव छ’, उहाले भन्नुभयो, ‘बरू हामीलाई चिकित्सक अभाव हुन्न । हामी यता रहेका चिकित्सकलाई त्यता खटाउन सक्छौं ।’ उहाले ठेकेदारबाट स्वीकृत हुनसाथ भवनमा सेवा सूचारू गरिने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्