काठमाडौं, १४ बैशाख । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माधव नेपालले सिद्धान्तको राजनीति छाडेर अड्डा अदालत धाएको भन्दै कटाक्ष गर्नुभएको छ । मंगलवार सामाजिक सञ्जालमार्फत बास्कोटाले कानूनको भन्दा राजनीतिमा रामवहादुर थापा बादलहरुको बाटो सही रहेको टिप्पणी गर्नुभएको छ ।
माधव नेपाल पक्ष अदालतमा पटक पटक गएकोतर्फ संकेत गर्दै उनले राजनीतिक निर्णय लिएर एमाले बन्न बादलहरुको लाइनको बचाउ गर्नुभएको छ । माधव नेपालसहितका नेताहरु एमालेबाट आफूहरुमाथि हुने सम्भावित कारवाही रोक्न माग गर्दै पछिल्लो पटक सर्वोच्च अदालत गएका थिए ।
अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । कुन्ती मोक्तानको गीत ‘कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा’लाई बिम्बका रुपमा प्रयोग गर्दै बास्कोटाले अदालत धाएर राजनीति सफल नहुने, त्यसका लागि राजनीतिक निर्णय लिनुपर्ने बताउनुभएको हो । बास्कोटाले भन्नुभएको छ , ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानूनका नौ सिङ्गवाला पो लाग्यो । कानुनको भन्दा राजनीतिमा रामवहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’













प्रतिक्रिया दिनुहोस्