जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार १४:२२

जसपा बैठकमा चर्काे विवाद : भएन कुनै निर्णय


काठमाडौं, बैशाख १३

जनता समाजवादी पार्टी (नेपाल)को शिर्ष नेताबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा विवाद कायमै रहेको छ । विवादलाई निरुपण गर्न कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै आज शिर्ष नेताहरुबीच छलफल भएपनि विवाद उत्पन्न भएको हो ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए । अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएपछि बैठक विना निष्कर्ष सकिएको हो ।

बैठकमा कुनै सहमति हुन नसकेपछि भोली फेरी बस्ने भन्दै नेताहरु बाहिरिएका छन् । जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् ।