जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार १७:३५

दाँतका रोगीलाई लकडाउनमा ओम समाजले घरै पुगेर दिने निःशुल्क सेवा, कसरी लिने आपतकालीन सेवा ?


काठमाडौं, बैशाख १४

कोरोना भाइरस संक्रमण तिब्ररुपमा बढिरहेको अबस्थामा ओम समाज डेन्टल हस्पिटल चावहिलले सामाजिक सेवाको सुरुवात गरेको छ । दाँत दुखाइका कारण समस्यामा परेका अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिडडुल गर्न नसक्नेहरुका लागि घरमै गएर निःशुल्क आपतकालीन सेवाको उपचार तथा औषधी वितरण गर्ने कामको सुरुवात गरेको हो ।

अस्पतालले आपतकालीन सेवाको उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न डेन्टल उपकरण जडित एम्बुलेन्सको प्रयोग गर्ने गरेको छ । दाँतका विभिन्न समस्याबाट पीडामा रहनुभएका दाँत रोगीहरुले आफ्नो नाम, फोननम्बर र ठेगाना हस्पिटलमा फोन गरि टिपाउनुपर्ने छ । हस्पिटलले कसैलाई दाँत दुखाइको पीडाले घरमा बस्न नपरोस् आपतकालीन सेवा सुरु गर्न लागिएको जनाएको छ ।

यो सेवा लकडाउन समय (बैशाख १६ देखि २२ गतेसम्म बिहान ११ बजे देखि २ बजेसम्म) संचालन गरिने भएको हो । यसअघिको लकडाउनमा समेत घर–घरमा पुगेर अस्पतालले निःशुल्क उपचार सेवा दिँदै आएको थियो । त्यस्तै अस्पतालले देशका विभिन्न ग्रामिण, शहरी क्षेत्रमा निःशुल्क दन्त शिविर समेत गर्दै आइरहेको छ ।