दोलखा, बैशाख १४ । नेकपा एमाले दोलखाले आगामी भदौंमा दशौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा आज बसेको जिल्ला कमिटीको बिस्तारित बैठकले ४५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्दै भदौंमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष इश्वरचन्द्र पोखरेलले दिनुभएको जानकारीअनुसार बैठकले ९ वटा पालिका र ७४ वटै वडामा यही बैशाख २१ गतेसम्म पालिका कमिटी र बैशाख २५ गतेसम्म वडा कमिटीको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । अधिवेशन अघि संगठित सदस्यता नविकरण गरिसक्ने सचिव नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बैठकले ९ वटै पालिकाको ईन्चार्ज, अध्यक्ष र सचिव समेत तोकेको छ । जसअनुसार गौरीशंकर गाउँपालिका कमिटी ईन्चार्जमा सोयमबहादुर खड्का, अध्यक्षमा जंग गुरुङ, र सचिवमा देवराम बुढाथोकी रहनुभएको छ ।
यसैगरी बैतेश्वर गाउँपालिका कमिटी ईन्चार्जमा ऋषिकेस उप्रेती, अध्यक्षमा माधव घिमिरे र सचिवमा माधव दहाल, तामाकोशी गाउँपालिका कमिटी ईन्चार्जमा जिबसराज खड्का, अध्यक्षमा नारायणध्वज खड्का र सचिवमा होम श्रेष्ठ तोकिएको छ । यस्तै बैठकले मेलुङ गाउँपालिका कमिटी ईन्चार्जमा हिरा थोकर, अध्यक्षमा अम्बिका गोले र सचिवमा ललित बस्नेत, शैलुङ गाउँपालिकामा ईन्चार्ज धनबहादुर तामाङ, अध्यक्षमा थीरबहादुर मोक्तान र सचिवमा गणेश कार्कीलाई जिम्मेवारी दिएको छ । यसैगरी कालिञ्चोक गाउँपालिका कमिटी ईन्चार्जमा विनकुमार थामी, अध्यक्षमा ईश्वरी दहाल र सचिवमा होम थामी, बिगु गाउँपालिका कमिटी ईन्चार्ज सुन्दर लामिछाने, अध्यक्षमा टेकमान तामाङ र सचिवमा लोकबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ ।
दुई नगरपालिकामध्ये जिरी नगरपालिका कमिटी ईन्चार्जमा टपेन्द्र खड्का, अध्यक्षमा टंकबहादुर जिरेल र सचिवमा शम्भुप्रसाद दाहाल तथा भीमेश्वर नगरपालिका कमिटी ईन्चार्जमा हरिवंश चौलागाईं, अध्यक्षमा ज्ञानेन्द्र प्रधान र सचिवमा रामचन्द्र बस्नेतलाई जिम्मेवारी दिइएको छ ।जिल्ला कमिटी अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता तथा बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न बिस्तारित बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सञ्चारमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य तथा दोलखाका इन्चार्ज पार्वत गुरुङ, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण भुजेल, लालकुमार केसीलगायतका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्