जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १७:०६

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार गरिने


काठमाडौं, बैशाख १६

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ । नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत शाहका लागि प्लाज्माको खोजी भइरहेको छ । पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार सम्भव भएसम्म आजै प्लाज्माबाट उपचार गरिनेछ । कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र छोरी प्रेरणा बैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

कोमललाई भने श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आइसियूमा सारिएको थियो । उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको बताइएको छ । भारतको हरिद्वारबाट फर्किएपछि शाह दम्पत्तीलाई कोरोना संक्रमण भएको थियो । पूर्वराजा शाहको अवस्था भने सामान्य रहेको छ । उनीहरूसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहको पनि अवस्था सामान्य रहेको बताइएको छ ।