जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १६:०१

पाल्पाको दशओटै स्थानीय तहमा अघि बढ्यो प्रधानमन्त्री रोजगार कार्यक्रम


सुशीला रेग्मी/पाल्पा

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा एक करोड ८४ लाख रुपैया बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ ।

यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट गरी रोजगार दिन थालेको छ । सो कार्यक्रमका लागि चौध लाख रुपैया बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथर सम्मको करीब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि साढे चार लाख रुपैया बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिनुभयो ।

बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । त्यस्तै रिब्दिकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि सघीय सरकारबाट चौध लाख र गाउँपालिकाबाट पाँच लाख रुपैया गरी कूल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।

यसैगरी सो कार्यक्रमका लागि रामपुर नगरपालिकाले चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । यसबाट करीब सय जना युवालाई रोजगार दिने योजना रहेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । ‘नगरका धेरै बेरोजगार युवालाई समेटेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौं,’ नगर प्रमुख थापाले भन्नुभयो, ‘असारदेखि काम थालनी हुँदैछ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त ४२ लाख रुपैयाँबाट एक सय ८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त १३ लाख रुपैया बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । यस कार्यक्रमअन्तर्गत तिनाऊ गाउँपालिकामा प्राप्त भएका १२ लाख रुपैया बजेटबाट दुई सय युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउनुहुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उन्नाइस लाख रुपैयाँ बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३ सय २० युवालाई रोजगार दिने तयारी थालिइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको १३ लाख रुपैयाँ बजेटबाट तीन सय युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै सो कार्यक्रमअन्तर्गत माथागढी गाउँपालिकालाई प्राप्त भएको १६ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका एक हजार दुई सय बढी युवाले आवेदन दिएका छन । बगनासकाली गाउँपालिकाका लागि प्राप्त १६ लाख बजेटबाट कामदार छनोट गर्ने प्रक्रिया भइरहेकाले आगामी असारको पहिलो सातादेखि कार्यक्रम शुरु गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्य्विधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन । रासस