जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार ०७:३७

भारतीय कारमा भेटिएका मृत वालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ


काठमाडौँ, वैशाख १९

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना वालकको पहिचान खुलेको छ । मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

उनीहरू तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी मृत भेटिएका थिए ।तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए ।

त्यसपछि प्रहरीलाई खवर भएको हो । इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानका लागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।