रुपन्देही, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकैबीच सपथग्रहण भएको हो । मुख्यमन्त्री पोखरेलले आज विहान राजिनामा दिई बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाउनु भएको थियो । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेको थियो । तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । एमालेका ४१ सांसद रहेको र सो संख्या तत्काल कायम रहेको संख्याको बहुमत भएकोले पुनः मुख्यमन्त्री नियुक्त गरी शपथ गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्