जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १७:१९

क्यावात मेयरसाप ! आफ्नो गाडी किन्न छुट्टयाइएको पैसाबाट अस्पताल निर्माण


कैलाली, जेठ २६

स्थानीय तहका पदाधिकारीहरु आफ्नो सेवा सुविधामा लिप्त भएको आरोप लागिरहँदा कैलालीका एक स्थानीय सरकार प्रमुख भने बिल्कुलै फरक देखिएका छन । नगरपालिकाबाट आफ्नो लागि गाडी किन्न बिनियोजन गरेको बजेट जनतालाई स्वास्थ्य सेवा पुर्याउन भन्दै अस्पताल निर्माण गर्ने असली जनप्रतिनिधि हुनुहुन्छ, लम्कीचुहा नगरपालिकाले मेयर महादेव बजगाईं ।

उहाँका लागि लागि गाडी किन्न छुट्याएको रकमले ५० शैय्याको अस्पतालमा बनाउन थालिएको छ । लम्कीचुहा नगरपालिका–१०, चुहामा लम्कीचुहा सामुदायिक अस्पताल निर्माणका लागि गत बिहिबार प्रतिनिधिसभा सदस्य झपट रावलले सिलान्यास गर्नुभयो । दुई वर्षभित्रै निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो अस्पतालमा लम्कीचुहा नगरपालिकाले गाडी किन्न छुट्याएको ७५ लाख र म्याचिङ फण्डबाट १५ लाख गरी ९० लाख रुपैयाँ लगानी गरिएको छ ।

कुल ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँदले पूर्वाधार विकास कोषबाट एक करोड १३ लाख रुपैयाँ लगानी गर्नुभएको छ । दुवै नेताले मेयरले राम्रो कामको थालनी गरेकोले आफूहरुले रकम बिनियोजन गरेको बताउनु भएको छ ।

मेयर बजगाईको अभियानलाई साथ दिँदै अस्पताल निर्माणका लागि चुहको राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे ५ विघा जमीन निःशुल्क उपलब्ध गराएको छ । सो अस्पताल निर्माण भएपछि लम्कीचुहा नगरपालिका तथा बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचार गराउन भारत जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

जनताको स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न आफरुहरुले अस्पताल रोजेको सांस्द झपट रावलको भनाई छ । रावलले अस्पताल बनेपछि लम्कीचुहा नगरपालिका आसपासका नागरिक समेत लाभान्वित हुने बताउनु भयो । सो अवसरमा नम्कीचुहा नगरपालिकाका मेयर बजगाईले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिन आगामी दिनमा पनि नगरपालिकाले बजेट छुट्याउने र थप बजेटका लागि प्रदेश र संघीय सरकारसंग पनि बजेट माग गरिएको जानकारी दिनुभयो ।