जनता टाइम्स

२३ बैशाख २०७८, बिहीबार २०:५४

खेलकुद महासंघले कोभिड महामारीसँग जुध्न यस्तो दियो सुझाव : खेलकुदमन्त्री सकरात्मक


काठमाडौं, बैशाख २३ । सत्तारुढ नेकपा एमालेनिकट खेलकुद महासंघले कोभिड महामारीसँग जुध्न विभिन्‍न सुझावसहित युवा तथा खेलकुद मन्त्री दावा लामालाई ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष रमेश पौडेल र वरिष्ठ उपाध्यक्ष कृष्ण बस्‍नेत परशुरामसहितका पदाधिकारी बिहीबार खेलकुद मन्त्रालयमा पुगेर कोभिड महामारी नियन्त्रण प्रभावकारी बनाउन तत्कालै दशरथ रंगशालासहितका खेलकुद संरचनाको उपयोग गर्नुपर्ने माग गरेका हुन्। ज्ञापनपत्र बुझेपछि मन्त्री लामा सकरात्मक हुनुएको छ ।

महासंघले कोरोना पीडितको संख्या दिनानुदिन बढिरहेको बताउँदै अहिले सञ्‍चालित स्वास्थ्य संस्थाले मात्रै थेग्न नसकिने भएकाले विकल्पमा जान सुझाएको हो। कोरोना संक्रमितको उपचार गर्न, क्वारेन्टाइन र आइसोलेसनका लागी पर्याप्त स्थान र जनशक्ति अपुग हुने भन्दै महासंघले राष्ट्रिय खेलकुद परिषद मातहतका दशरथ रंगशाला, अन्य रंगशाला, तालिम केन्द्र, होस्टेल, कभर्ड हल जस्ता देशभरका भौतिक संरचनालाई सदुपयोग गर्न भनेको हो।

महासंघले त्रिपुरेश्वरस्थित राखेपको नयाँ प्रशासनिक भवनलाई क्वारेन्टाइनका रुपमा तुरुन्तै सञ्चालन गर्न माग गरेको छ। त्यसैगरि त्रिपुरेश्वरकै कभर्डहल र दशरथ रंगशालाको प्याराफिटमुनिका तालिम हललाई आइसोलेसन सेन्टरको रुपमा विकास गर्न खेलकुद मन्त्रीसँग माग गरेको छ।त्यस्तै पोखरा, हेटौँडा, दाङ, नेपालगञ्ज लगायत स्थानका कभर्डहल र तालिम केन्द्रलाई पनि महामारीको अवस्था हेरेर आइसोलेसनका रुपमा प्रयोग गर्नु जरुरी रहेको महासंघले बताएको छ।

नेपालका अन्य क्षेत्रका ब्याडमिन्टन, भलिबल, टेबुल टेनिस, जुडो लगायतका खेल सञ्चालन हुने साना इन्डोर हललाई समेत कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने व्यवस्था मिलाउन खेलकुद मन्त्रीलाई आग्रह गरेको छ।

महासंघले खेलकुद क्षेत्रका थुप्रै व्यक्ति महामारीबाट पीडित हुने, अकालमा ज्यान गुमाउने दुःखद अवस्था कायमै रहेको बताउँदै राहत प्याकेज ल्याउन पनि सरकारलाई भनेको छ।

यस विषम परिस्थितिमा मृतक खेलाडी तथा खेलकर्मीको परिवारजनमा यथासक्य राहत सहयोग उपलब्ध गराउनु जरुरी छु, महासंघका वरिष्ठ उपाध्यक्ष बस्‍नेतले भने, अरु पीडितहरुलाई तत्काल आवश्यक उपचार तथा पुनस्स्थापना गर्ने कुरामा राखेपमार्फत तुरुन्त पहलकदमी लिइयोस्।