जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार ०७:३८

प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक छलफलको तयारी


काठमाडौं, बैशाख २४ । नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय बनेका छन् ।आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी छ । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेको छ ।

तर एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् । हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो ।

त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए । आज राष्ट्रिय सभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमा हिजो छलफल भएको र आज पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेको छ ।