जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार ०९:०२

बिहे भोजले निम्त्यायो सिन्धुपाल्चोकमा झाडापखालाको महामारी


सिन्धुपाल्चोक, जेग २७

बिहे भोजको विषाक्त खानाले बलेफी गाउँपालिका ५ मूलाबारी गाउँमा ४२ जनामा एकैसाथ झाडापखालाको महामारी फैलिएको छ । भोज खाएपछि बिरामी परेका १८ वर्षीया सुशीला भुजेल, २३ वर्षीया संगीता भुजेल र ३४ वर्षीया विमला कार्कीको अवस्था गम्भीर भएपछि राजधानीस्थित शिक्षण अस्पताल लगिएको छ ।

गत बिहीबार बिहे भोज खाएका जन्ती धमाधम बिरामी पर्न थालेपछि गाउँमा आतंक मच्चिएको हो । बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीका अनुसार बिहे भोज खाने अधिकांश बिरामी परेका छन । ‘बिहे भोज खाएको भोलिपल्टै महामारीका रूपमा फैलिएपछि स्वास्थ्य चिकत्सकको टोली खटायौँ, त्यसपछि समस्यामा केही कमी आएको छ,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बिरामीमा ‘फुड प्वाइजन’ को समस्या देखिएको बताउनु भयो । विषाक्त खानाकै कारण बिरामीको अवस्था कमजोर भएको उहाँको भनाई छ । जिल्लाबाट बिरामीको उपचारका लागि विशेष टोली गाउँमा पुगेको थियो । टोलीको उपचारबाट २४ जना स्वस्थ भएर घर फर्किसकेका छन ।