जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार १५:४८

कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने


काठमाडौं, बैशाख २६

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको छ । ‘संक्रमण भएका माननीयलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् । हालसम्म ५० भन्दा बढी सांसदको परीक्षण गर्न बाँकी छ । उहाँहरुको आइतबार नै स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।