जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार १७:४४

पार्टी एकताको पक्षमा अध्यक्ष ओलीको अपिल : पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन (पूर्णपाठ)


काठमाडौं, बैशाख २६

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि पक्षपात वा काखा पाखा नगर्ने बताउनुभएको छ । उहाँले आज प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नुभएको हो ।

उहाँले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र ईर्श्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताउनुभएको हो । वक्तव्यमा लेख्नुभएको छ,‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’

उहाँले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गर्नुभएको छ ।