जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार ०७:१३

प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिने


काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गर्नुभएको छ । नेकपा विघटन र एमालेभित्रकै आन्तरिक कलहका कारण सत्ता संकटमा परेका बेला ओलीले विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो । संसदबाट विश्वासको मत लिन निर्णायक मतका रुपमा नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरु देखिएका छन् । आन्तरिक विवाद समाधानका लागि एमाले नेताहरु दिन रात प्रयासरत छन् । पछिल्लो समयमा माग पूरा गरी सहमतिका लागि माधवपक्षले संस्थापन पक्षलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दएिको छ । प्रतिनिधिसभामा नेकपा एमालेका १ सय २१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ५० र जनता समाजवादी पार्टी (जसपा)का ३४ सांसद छन् । नेपाली कांग्रेस र माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने जसपा तथस्ट बस्ने भएको छ । विश्वासको मतका लागि ओली सरकारलाई कम्तिमा १ सय ३४ मतको आवश्यकता पर्नेछ । एमालेले सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि माधव नेपाल पक्षीय केहि सांसदबाट फ्लोर क्रस हुनसक्ने वा मतदानअघि नै राजीनामा हुनसक्ने सम्भावना छ ।