जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार ११:४०

राजीनामाबाट पछि हट्यो माधव पक्ष


काठमाडौं, २७ बैशाख । नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भन्नुभयो । सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ । उहाँले राजीनामाबारे छलफल भएपनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । यता स्रोतका अनुसार राजीनामा दिने सांसदहरु ७ देखी ८ जनामात्र भएको कारण पनि राजीनामाबाट पछाडी हटेको बताईएको छ । धेरै सांसदहरुको साथ नपाएपछि माधव नेपाल आफैले बनाएको गुटमा आफै अल्पमतमा परेका छन् ।