जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १६:११

सभामुखले फुटाइ दिए जसपा, महन्थको कुरा काटेर उपेन्द्रले दिए औपचारिक बिभाजनको प्रमाण



काठमाडौं, बैशाख २७ । सभामुख अग्नि सापकोटाले जनता समाजवादी पार्टी बिभाजन गरिदिनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरले दलको तर्फबाट आफ्नो धारणाराखिसकेपछि सभामुख सापकोटाले उपेन्द्र यादवलाई पनि बोल्न दिएर जसपालाई औपचारिक रुपमा बिभाजन गरिदिनु भएको हो ।

संसदमा जसपाका अध्यक्ष ठाकुरले आफूहरु कतै नलागी तटस्थ बस्ने दलको निर्णय सुनाउनु भयो । उहाँले आफ्ना नेता कार्यकर्तामाथि लगाईको झुठा मुद्धा फिर्ता लिएको र आफूहरुको कुरा सुनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद मात्र दिनुभएन, आभार प्रकट गर्नुभयो । तर यादवले प्रधानमन्त्रीबिरुद्ध जथाभावी आफ्नो अभिब्यक्ति दिनुभयो । ओली नेतृत्वकै सरकारमा स्वास्थ्य मन्त्री बनेर भ्रष्टाचारमा चुर्लुम्म डुब्नुभएका यादवले स्वास्थ्य मन्त्रालयकै काममाथि पनि प्रश्न उठाउनु भयो । स्वास्थ्य मन्त्रालयमा यादवले नेतृत्व गर्दा पैसाबिना केही पनि काम नगर्ने प्रचलन बसाउनु भएको थियो ।

उहाँले आफैले असुली गरेको बिषयलाई सरकारले भ्रष्टाचार गरेको भन्दै आक्षेप पनि लगाउनु भयो । भारतको लागि कम्पर्टेवल सरकार गठनमा लागेका तथ्य स्थापित गर्दै यादवले आफ्नो कुरा राख्नुभएको थियो । उहाँले प्रधानमन्त्रीलाई बिश्वासको मत नदिने आफ्नो दलको निर्णय रहेको पनि सुनाउनु भयो । संसदमा सभामुखले एउटै दलका दुई नेतालाई बोल्न दिएर औपचारिक रुपमा बिभाजन गरिदिनु भएको जस्तै ठाकुरको भनाई भन्दा ठीक बिपरित धारणा राखेर जसपा एउटा होइन, दुईटा दल रहेको प्रमाणित गरिदिनु भएको छ ।