जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार १६:५७

गण्डकीमा पिएस हटाएर बहुमतको सरकार बनाउने प्रयाश बिफल, ठुलो दल एमालेलाई नै सरकार गठनको आह्वान


पोखरा, बैशाख २९ । गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने कांग्रेस–माओवादीको प्रयास बिफल बनेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हटाउने अभियान चलाउनु भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले तोकिएको समयभित्र बहुमत सांसदको हस्ताक्षर बुझाउन नसक्दा बहुमतको सरकार गठन गर्ने बिपक्षीको योजना बिफल बनेको हो ।

गण्डकी प्रदेशका प्रमुख सीता पौडेलले आज दिउसो ४ बजेसम्म बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो । तोकिएको समयमा बिपक्षी गठबन्धनले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेका हुन । नेपालीको पक्षमा ३० जना सांसदको मात्रै हस्ताक्षर देखिएको छ । राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफ्नो हस्ताक्षर किर्ते गरी प्रदेश प्रमुखलाई बुझाएको जानकारीसहितको पत्र पठाएपछि बिपक्षी गठबन्धनको अपराधपुर्ण काम पनि बाहिर आएको छ ।

आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियो । तर थापा विहानै जन्मथलो बाग्लुङ जानुभएको छ । उहाँलाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएको भएपनि कारवाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको जानकारी गराउनु भएको थियो । अहिले ४ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएकाले प्रदेश प्रमुख पौडेलले ठुलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गर्नुभएको छ । तर कांग्रेस–माओवादी भने किर्ते कामलाई नै मान्यता दिनुपर्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएर बसेका छन ।