काठमाडौं, बैशाख ३०
एमाले सांसद् पवित्रा निरौला खरेलले पनि राजीनामा अस्वीकार गर्नुभएको छ । झापा क्षेत्र नं २ बाट निर्वाचित निरौलाले आफ्नै पार्टीको सरकार हुँदाहुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन, देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नँ ।’
नेकपा एमालेको माधव गुटमा खुल्नुभएको उहाँले कुनै हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नि,’ उहाँको भनाइ छ । राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनु भएको खरेलले बताउनुभयो ।
‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’ उहाँले थप्नुभयो । ‘मैले एमाले पार्टी बिनाको राजनीति कल्पना पनि गरेको छैन, मसँग राजीनामाको विषयमा कसैले छलफल पनि गरेको छैन, राजीनामा कुनै हालतमा दिन्न ।’ यस्तै माधव समूहका सुनसरी–१ बाट निर्वाचित जयकुमार राईले पनि राजीनामा अस्वीकार गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्