काठमाडौं, बैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सवैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीलाई आज पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
संबिधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि दलहरुलाई दिइएको समयभित्र बहुमत जुटाउन नसकी कुनै पनि दलले दावी नगरेपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले सवैभन्दा ठूलो दल एमालेका नेता ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओली बैशाख २७ गते संसदमा बिश्वासको मत पाउन नसकेपछि पदमुक्त भई कामचलाउ सरकारको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिरहनु भएको थियो ।
उहाँ आज पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ः ३० मा सपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनताटाइम्सलाई बतायो । बालुवाटार स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार सपथग्रहण लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गर्नुहुने छ ।














प्रतिक्रिया दिनुहोस्