बागलुङ, बैशाख ३१ । बिहे भोजमा जाँदा बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भई ज्यान गुमाउन बाध्य भएका हुन ।
ज्यान गुमाउनेमा विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराले ज्यान गुमाउनु परेको छ । मृतकमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
एक साताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि निधन भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिसमा त्रास छाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ भने प्रशासनले जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।













प्रतिक्रिया दिनुहोस्