जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार १४:४५

एमाले बिवाद मिलाउन वान टु वान बार्तामा ओली–नेपाल


काठमाडौं, जेठ २ । एमालेभित्रको बिवाद सल्टाउने अभियानमा लाग्नुभएका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आज पुनः बार्तामा बस्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बिवाद समाधानमा केन्द्रित रहेर बार्ता गर्नुभएको हो ।

शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा दुई नेतालाई दिएको थियो । बरिष्ठ नेता नेपाल पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा हुनुहुन्छ । ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई ०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार शुक्रबार बसेको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो । सोही कामका लागि अध्यक्ष ओली र नेता नेपाल आज पुनः बार्तामा बस्नुभएको हो ।