जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १६:५०

माधवले लिए बादललाई जिताउने जिम्मा, गरे यस्तो अठोट


काठमाडौं, जेठ ४ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उम्मेद्वारलाई जिताउनु आफ्नो कर्तब्य नै भएको भन्दै जिताउन सम्पुर्ण शक्ति लगाउने बताउनु भएको छ । बरिष्ठ नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन सबै शक्ति परिचालन गरिने बताउनुभएको हो ।

पार्टीभित्र असन्तुष्ट समुहको नेतृत्व गर्नुभएका बरिष्ठ नेता नेपालसँग सहयोग माग्दै गृहमन्त्रीसमेत रहनुभएका एमाले नता थापा आज कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको थियो । एमालेभित्रको बिवाद समाधान गर्न कार्यदल गठन भएको अवस्थामा असन्तुष्ट समुहले माओवादी र कांग्रेसको उम्मेद्वारलाई मतदानमा सघाउने हो कि भन्ने आशंकासहित थापा नेपाल निवास पुग्नुभएको थियो । सो क्रममा नेता नेपालले थापालाई जिताउन सवै शत्तिः परिचालन गरिने र धोका नहुने बचन दिनुभएको छ । गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार नेता नेपालले जिताउने जिम्मा लिनुभएको छ ।

‘तपाईं एमालेको उम्मेद्वार भएकोले विजयी गराउनु मेरो दायित्व हो,’ थापालाई बरिष्ठ नेता नेपालको भनाई थियो । करिब ४५ मिनेट भएको छलफलमा उहाँहरुबीच एमाले विवाद समाधानको पाटोमा समेत कुराकानी भएको छ । माओवादीले बादललाई पदमुक्त गरेपछि रिक्त बागमति प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचन यही जेठ ६ गते हुँदैछ । बागमतिमा एमालेको एकल बहुमत रहेको छ ।