जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १६:०६

च्याउ खाएर दुईको मृत्यु


रामपुर, जेठ २७

पाल्पाको निस्दी गाउँपालिकाका जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ । जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी-३ का ११ जना बिरामीमध्ये नौ वर्षीय निर्मला सिंह ठकुरीको शनिबार र आज चारवर्षीय विष्णुसिं ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर चितवन सिफारिश गरिएको छ । नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेका नौ जनाको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

बिरामी ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ३६ वर्षीया चनकुमारी, १५ वर्षीया छोरी विमला, ८० वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानमायासिं ठकुरी, सात वर्षीय सुमनसिं, धनकुमारी सिं, निशासिं र निरुतासिंको अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ ।