जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १९:२४

माधव पक्षः घरमा आगो लगाउने, कोठाको दावी नछोड्ने !


जतिसुकै जेठ २ गतेको सेरोफेरोमा सहमति भनिए पनि यो सहमतिले फागुन २८ गतेको घेरो नघुमी कुनै समाधान निस्कदैन । विवादको समाधान खोज्ने भने पने एकताको सूत्र पहिल्याउने भने पनि त्यो धरातलीय यथार्थमा आधारित भएर खोजिनु पर्छ । ओस्कार वाइल्डले भनेझैं दृष्टिविहिनले अँध्यारो कोठामा नभएको कालो विरालो खोजे जसरी एमाले एकताको सूत्र फेला पर्दैन

निर्मल भट्टराई

नेकपा(एमाले)को स्पष्ट बहुमत हुदा हुदै बाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभाको सीट ऐमालेले गुमाउनु परेको छ । एमालेको सूर्य चिन्ह लिएर चुनाब जितेकाहरुले नै एमालेलाई हराएका छन् । धेरैका अनुमान, भविष्यबाणी र चाहनालाई आश्चर्यचकित बनाउदै एमालेको विवाद सामाधानतर्फ उन्मुख हुन थालेको अवस्था थियो । माधवपक्षको मागलाई वास्ता नगरेको भन्ने आरोप लागेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टी मिलाउन एकाएक लचकता देखाएपछि र माधव पक्षमा संसद पदबाटै राजिनामा दिएर प्रधानमन्त्रीलाई संसदमा अप्ठ्यारो पार्ने विषयमा सहमति नभएपछि विवादरत दुवै पक्ष छलफलमा बस्न सहमत भएका देखिन्छन् । माधव नेपाललगायतलाई गरिएको निलम्बनको कारवाही फुकुवा भएपछि नजिकिएका नेताहरू एक कार्यदल बनाएर विद्यमान समस्यालाई समाधान गर्न सहमत भएका छन् । नमिलेका विषयलाई मिलाउन बनेको १० सदस्यीय कार्यदलले कामसमेत शुरु गरिसकेको अवस्था थियो ।

साविक नेकपामै न भूतो न भविष्यति गाँड कोराकोर गर्दै आएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच चपली हाइटमा चार घण्टा वान टु वान छलफल भएपछि तत्काल माधवपक्षीय सांसदको राजिनामा रोकियो र यसले संसदमा विपक्षी गठबन्धनको बहुमतको संभावनालाई अन्त्य गरिदियो । सर्वोच्चको फैसलाले नेकपाको एकता खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पुःन अस्तित्वमा आए । यो घटनालाई ‘जन्मिसकेको बच्चालाई पेटमा पठाउने प्रयास’ भनेर समेत ब्यङ्ग गरिएको थियो । ब्युँतिए लगत्तै एमालेले फागुन २८ गते बैठक बसेर माओवादी केन्द्र त्यागेर एमालेमा समाहित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतका तेईस जना नेतालाई समेटेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्यो । पार्टीको त्यो निर्णयलाई अस्वीकार गरेको माधव पक्षले सर्वोच्चले एमालेलाई पुरानै अवस्थामा ब्युँताईदिएकोले २०७५ साल जेठ २ गतेमै फर्काउनु पर्ने भन्दै समानान्तर गतिविधि गर्दै आएको थियो ।

बरिष्ठ नेता माधव नेपाललगायत चारजना नेतालाई निलम्बन गरेपछि धेरैले एमालेको विभाजन निश्चित भएको आँकलन समेत गरेका थिए । माधव पक्षले एमाले फुटाउने, साविक नेकपामै ओलीविरुद्ध सहकार्य गर्दै आएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नामबाट ‘माओवादी’ ट्याग हटाउने र पार्टी एकता हुने विश्लेषणसहितका प्रचारवाजी भएका थिए । हुन पनि विपक्षी गठबन्धनलाई सरकार गठनको लागि दिइएको अन्तिम मिति वैशाख ३० गते अपरान्हसम्म प्रचण्ड र माधव नेपालबीच दृश्य-अदृश्य सहमति र सहकार्यको त्यान्द्रो कायमै रहेको थियो । धेरैलाई लगेको थियो- त्यो त्यान्द्रो तब चुँडियो, जब माधव नेपालले अध्यक्ष ओलीसंग त्यो दिनको साँझ ६ बजेसम्म वार्तामा गुजारे र आफ्ना पक्षका सांसदको राजिनामाको म्याद घर्काए । माधव नेपालको त्यो सुझबुझले एमालेलाई मात्र तत्काल बचाएन, ओली सरकारलाई सञ्जिवनी दियो ।

एमाले २०७५ जेठ २ गतेको सेरोफेरोबाट एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको जनाईएको थियो । चपली हाइटको चारघण्टाले निकालेको ‘जेठ २ गतेको सेरोफेरो’ पदावलीको वास्तविक अर्थ के हो ? एमाले पङ्क्तिमा सर्वाधिक चासोको विषय हो यो । चासो यसकारण पनि छ कि यो छोटो अवधिमा एमाले पार्टी कमिटीमा वा समानान्तर कमिटीमा हजारौं कार्यकर्ताले नयाँ पदीय भूमिका पाएका छन् ।
एक ढङ्गले हेर्ने हो भने नेकपा(एमाले) अहिले पनि जेठ २को सेरोफेरोमै छ । २८ गतेको बैठकले एमालेको नवौं महाधिवेशनले निर्वाचित कोही पनि केन्द्रीय कमिटीबाट हटाइएको छैन । माओवादीसंग एकता प्रयोजनका लागि त्यतिवेला सहमतिमै करिब चार दर्जनको सङ्ख्यामा नयाँ केन्द्रिय सदस्य बनाइयो भने फागुन २८ गते बादलसहित २३ जना थपिए । धेरैको मत पनि सुनिन्थ्यो-केन्द्रिय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने कुरा विधानविपरीत हुन्छ भनिएको हो भने अहिलेको २६४ सदस्यीय कमिटीलाई केन्द्रीय कमिटी नै भने पनि खास केही फरक पर्दैन । आखिर नाममा के छ ?

२०७७ फागुन २८ गतेको एमालेको निर्णयले पार्टी अध्यक्ष र महासचिवको बाहेक सबैको पद निलिदिएको थियो । बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालमात्र होइन, अरु सबै पदाधिकारीलाई केवल दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यमा सीमित गरिएको थियो । असन्तुष्ट माधव पक्षबाट धेरै नउछालिएको तर सबभन्दा बढी चित्त दुखाएको विषय थियो । आफूलाई सम्बोधन गराउदा वा आफूद्वारा गरिने औपचारिक-सार्वजनिक पत्राचारमा आफ्नो पदलाई हाइलाइट गराइईंदै थियो । रिसको बेला वेद पढिन्न भनेझैं पार्टीले माधव नेपाल सहितका नेताहरूलाई साधारण सदस्यबाटै छ महिनाका लागि निलम्बन गरेको थियो भने कहिलेकहीं माधव पक्षले एमाले र अध्यक्षलाई ‘नक्कली’ र आफूलाई ‘सक्कली’ समेत कहलाएको थियो ।

झगडा र हठको आफ्नै समय हुन्छ । मिलन र लचकताको आफ्नै समय हुन्छ । त्यसकारण आगामी मङ्सिर २-६मा महाधिवेशन गर्ने निर्णय भईसकेको सन्दर्भमा सो अवधिसम्म बरिष्ठ नेताद्वय र अरु पदाधिकारीको पद पिण्डस्थाने पिण्डम् गर्दा पनि खास फरक नपर्ने तर्क समेत कार्यकर्ता गर्दै थिए । तर यसो गर्दा माओवादीबाट एमालेमा सामेल भएका नेताहरुको पदीय जिम्मेजारी संगसंगै तय हुनैपर्छ । आफ्नो लामो राजनीतिक जीवन दाउमा राखेर एमाले बनेका नेतालाई एमाले एकताको नाउमा मानमर्दन वा खिसी-टिउरी गर्न मिल्दैन ।

फागुन २८ पछि गठित पार्टीको राष्ट्रिय परिषदलाई हिजो समानान्तर गतिविधिमा लागेको कारण छुटेका केही र बादलसमूहका केही समेटेर पूर्णता दिन सकिन्थ्यो । हाल पुनर्गठित मातहत कमिटी र जनसंगठनमा २०७५साल जेठ २ गते कायम रहेको नेतृत्व,पदाधिकारीलाई कायम गरेर छुटेका योग्य र आवश्यकलाई समेटेर पूर्णता दिन सकिन्थ्यो । यो विषय हलुवामा बालुवा बन्ने विषय होईन किनभने एमाले शीर्ष नेतृत्वलाई देशभरका हजारौं कार्यकर्ताको योग्यता, क्षमता र भूमिका थाहा नभएको होईन । अरू विषयको अतिरिक्त एमाले नेताहरू कार्यकर्ताको ह्याण्डलिङमा माहिर नै छन् ।

एमालेको जीवनमा अहिले बागमती प्रदेशको रास्ट्रिय सभाको उप-चुनाबको परिणाम एक अकल्पनीय, विखणडनकारी भएर खडा भएको छ । एमालेमा गर्ने भनिएको आन्तरिक एकतालाई पुःन गम्भीर संकटमा पुर्याईदिएको छ । कर्णाली प्रदेशमा भएको फ्लोर क्रसपछिको ठूलो अपराध देखा परेको छ । सूर्य चिन्ह लिएर निर्वाचित एमालेका केही जनप्रतिनिधिले क्रस भोटिङ् गरेका कारण पार्टीका आधिकारिक उमेद्वारको पराजय भएको छ । एमालेको ईतिहासमा सबभन्दा ठूलो अन्तरघात भयो । सि पी मैनाली र जगत बोगटीबाट शुरु भएको एमालेको अन्तर्घात-संस्कृति माधव नेपालको पालामा फेरि प्रकट भएको छ ।

माधव पक्षले ०७५ जेठ २ गते फर्कनु पर्ने जिद्दी आन्तरिक एकताको लागि वाधक बन्दै आएको थियो । निःसन्देह, पार्टी एक गतिशील निकाय भएकोले अदालतले भन्यो भन्दैमा तीन बर्षको अवस्थामा ठ्याक्कै फर्कन सक्ने अवस्था विलकुल छैन । नेतृत्वको हकमा पनि केन्द्रदेखि वडा तहसम्म तीन बर्ष पहिलेका खातापाता पल्टाएर नामनामेशीमा रोल कल हुन सक्दैन । किनभने यो तीन बर्ष एमाले निस्कृय भएको थिएन, फरक ढङ्ग र पहिचानमा सकृय थियो,गतिशील थियो । त्यो अवधिको एमाले पङ्तिको सकृयता जति आकाश पाताल जोडे पनि शुन्यतामा जान सक्दैन ।
एमालेमा कुनै नेताको पार्टीगत जिम्मेवारी किलो ठोकेजस्तो एकै ठाउँमा कहिल्यै भएन, अब पनि हुदैन । उदाहरणको लागि सबै कुरा मिल्दा कुनैबेला उपाध्यक्ष डा. भीम रावल पार्टीको सुदुरपश्चिम प्रदेश ईन्चार्ज थिए, अब विदेश विभाग प्रमुख हुनसक्छन् । बरिष्ठ नेता माधव नेपाल विदेश विभाग प्रमुख थिए, अब दशौं महाधिवेशन मूल व्यवस्थापन कमिटीको प्रमुख हुन सक्छन्, आदि ।

जतिसुकै जेठ २ गतेको सेरोफेरोमा सहमति भनिए पनि यो सहमतिले फागुन २८ गतेको घेरो नघुमी कुनै समाधान निस्कदैन । विवादको समाधान खोज्ने भने पने एकताको सूत्र पहिल्याउने भने पनि त्यो धरातलीय यथार्थमा आधारित भएर खोजिनु पर्छ । ओस्कार वाइल्डले भनेझैं दृष्टिविहिनले अँध्यारो कोठामा नभएको कालो विरालो खोजे जसरी एमाले एकताको सूत्र फेला पर्दैन ।

समृद्धिप्रेमी र नेपालमा समाजवाद चाहने नेपाली जनताले एमालेमा कुनै प्रकारको विखण्डन नआवोस् यो झन सुदृढ बनोस् भन्ने चाहेका छन् । एमालेमा यथास्थिति होईन, गतिशीलता चाहेका छन् । तर नेताहरू आफ्नो पार्टीका आधिकारिक उमेद्वार हराएर विपक्षीहरूसंग विजयको लड्डु खाईरहेका छन् । पार्टीमा यस्तो ‘पुरूषार्थ’ धेरै दिन टिक्दैन । जति तर्क गरे आफ्नो घरमा आगो लगाएर हर्षबढाईं गर्ने विषय पनि माफयोग्य विषय हुदै होइन ।