काठमाडौं, जेठ ७ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल समुहले लज्जास्पद नाटक देखाएको भन्दै ती क्रियाकलापमा क्षमायोग्य नरहेको बताउनु भएको छ । महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै सो कामले एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताउनु भएको हो ।
पोखरेलले माधव पक्षले अपराधपूर्ण काम गरेको भन्दै यी कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको बताउनु भएको छ । आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन, महासचिव पोखरेलले भन्नुभएको छ ।
महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने आफ्नो निश्कर्ष पनि राख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्