जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार ०९:३६

गगन थापालाई महेश बस्नेतको कडा काउन्टर


काठमाडौं, जेठ ७ । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र ष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा गंजेडीका गफ नदिने चेतावनी दिनुभएको छ । कांग्रेस नेता गगन थापाले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनु पर्ने भन्दै आपत्तिजनक पोष्ट गरेपछि एमलो नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई गलहत्याउने र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेसम्मका गंजेडीका गफ नदिन चेतावनी दिनुभएको हो । प्रधानमन्त्री केपी ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषदबाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएसँगै राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेसँगै विभिन्न नेताहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिमाथि विभिन्न प्रकारका आक्षेप तथा भ्रमपूर्ण कराहरु गरिरहेको भन्दै उहाँले आक्रोस जनाउनुभएको हो ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले समयसीमा दिएपछि कांग्रेसका नेता गगन थापा, रामचन्द्र पौडेल, माओवादीका रञ्जित तामाङलगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई गलत्याएर निकाल्ने तथा राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउन संसदमा दुई तिहाई मतको आवश्यक पर्छ । जसमा एमालेविना दुई तिहाई पुग्ने कुनै पनि सम्भावना छैन । त्यसैले महाभियोग लगाउँछु भन्दै चिच्याउनेहरु केवल प्रचारवाजीको मात्र भएको स्पष्ट रहेको छ ।

सोही अभिव्यक्तिलाई सांसद बस्नेतले काउण्टर दिँदै हिम्मत भए बहुमत पुर्याएर सरकार गठन गर्न सुझाउनु भएको छ । कांग्रेस, माओवादीलगायतका दलहरुले बहुमत पुर्याएमा आफुहरु प्रतिपक्षमा बस्न कुनै समस्या नहुने उल्लेख गर्दै सांसद बस्नेततले वर्तमान सरकारको विरुद्धमा हात धोएर लाग्ने तथा पार्टीलाई विभाजन, फ्लोर क्रस, पार्टीको ह्विपविरुद्ध मतदान गर्ने तथा गर्न लगाउने जस्ता गैरलोकतान्त्रीक गतिविधिको नेतृत्व कांग्रेस र माओवादीले गरेको घाम जस्तै छर्लङ्ग भएको बताउनुभयो ।

यस्तो छ बस्नेतको जवाफ
राजनीति विचार र सिद्धान्तको मात्र विषय होइन । यो त विधि, पद्धति र प्रक्रियाको विषय पनि हो । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन् । एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने । फ्लोर क्रस गराउने, पार्टी व्हिपविरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत देखाएकै छन् । यस्तो हर्कतको परिकल्पना र निर्माण मावोवादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ । च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा। बाबुराम र उपेन्द्र घुँडा धसेरै लागेका छन् भने भित्र भित्रै माधव नेपालले पनि आशिर्वाद दिएकै छन् ।

आजको परिवेशमा बनेको धारा ७६ (३) को सरकारले विश्वासको मत पाउने स्थिति नदेखिए पछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६ (५) को सरकारको लागि आव्हान भएको छ । यो स्वभाविक संवैधानिक प्रक्रिया हो । यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवि भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाई महाअभियोग लगाउनेसम्मका गंजेडिका गफ गरिरहेका छन् । याद होस सक्छौं भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर । हामी बिपक्षीमा बस्न तयार छौ । नत्र भने संविधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाई आलोचनात्मक समर्थन गर ।

मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन । लोकतान्त्रको विधि र प्रक्रिया भनेको संसदमा जसको बहुमत पुग्छ उसैको सरकार बनाउने होला नि ! तिम्रा रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन सक्छ र ? बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो, आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने, अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने । जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ । नेपाली राजनीतिका सफल टिम लिडर केपी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन्, सिल्ड मेडल प्राप्त गरिरहने छन् ।