जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १९:२०

माधव-झलनाथसहित बिघटित संसदका ११ सांसदमाथि एमालेले सोध्यो लिखित स्पष्टिकरण (सूचीसहित)


काठमाडौं, जेठ ८ । सत्तारुढ नेकपा एमालेले आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल र झलनाथ खनालसहित बिघटित प्रतिनिधि सभाका ११ सांसदमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना विघटित प्रतिनिधि सभाका सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । एमालेले यसअघि माधव समुहमै रहेको र हस्ताक्षरसमेत दुरुपयोग गरी पठाइएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्टलगायतका नेतासँग भने स्पष्टिकरण सोधेको छैन र
स्पष्टिकरण सोधिएका नेताहरुमा झलनाथ खनाल, माधव नेपाल, भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद हुन । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सवै जनालाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

माधव समुहका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको जानकारी दिएको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनताटाइम्सलाई बताउनु भयो । ‘हस्ताक्षर दुरुपयोग भएको र किर्ते गरिएको जानकारी कतिपय नेताहरुले गराउनु भएको छ, त्यसैआधारमा उहाँहरुलाई स्पष्टिकरण नसोधिएको हो,’ ज्ञवालीले भन्नुभयो ।

स्पष्टीकरण सोधिएका एमाले सांसद

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमवहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६. सरला यादव

७. पुष्पाकुमारी कर्ण

८. कलिला खान

९. निरादेवी जैरु

१०. लक्ष्मी कुमारी चौधरी

११. कल्याणी खड्का