जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १३:४८

अमेरिकाले भन्यो – नेपाल हाम्रो प्राथमिकतामा


कामठाडौं, जेठ १०

नेपाललाई अमेरिकाले कोभिड–१९ विरुद्धको खोप आपूर्तिमा प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग भएको टेलिफोन वार्ता मार्फत हाम्रो देश खोप आपूर्तिमा प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

अमेरिकाले विदेशी मुलुकहरुलाई ८० मिलियन खोप दिने जनाएको छ । टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन भन्नुभएको थियो ।
नेपालको आग्रहमा अमेरिका सकारात्मक रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा समेत उल्लेख गरिएको छ ।

संवादका क्रममा सेर्मनले कोभिड विरुद्ध तथा अन्य सामाजिक–आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिनुभयो । अमेरिकाले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा नेपालको तर्फबाट मन्त्री ज्ञवालीले धन्यवाद दिनुभयो । उपविदेशमन्त्री सेर्मनले पाइपलाइनमा रहेका अमेरिकी परियोजनाको कार्यान्वयनले दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध अझ गाढा हुने समेत बताउनुभयो ।