जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०५:४२

पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि : अर्थमन्त्री खतिवडा


काठमाडौँ, जेठ २८

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताउनुभएको छ । आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाउनुभएको विषयको जवाफ दिनुहँदै उहाँले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताउनुभयो ।

चालू आवको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताउनुभयो । सबै प्रदेशमा छ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उहाँले बताउनुभयो । सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताउनुभयो ।

“समानीकरण अनुदान बढी पाउने कर्णाली प्रदेश, प्राकृतिक स्रोत बाँडफाँटको विषय हामीले टुङ्ग्याइसकेका छैनौँ”, उहाँले भन्नुभयो । कृषिमा एकीकृतरुपमा धेरै कार्यक्रम आएको, रासायनिक मल कारखाना प्राकृतिक ग्यासबाट चलाउन विदेशबाट पाइपलाइन ल्याउनुपर्ने भएकाले तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । प्राविधिक कारणले पनि यसमा अघि बढ्न नसकिने मन्त्री खतिवडाको भनाइ थियो ।

चालू खर्चमा विकास कार्यक्रम पनि हुने सङ्घले प्रदेश र स्थानीय तहमा चालू खर्च भनेर दिए पनि विकास खर्च नै हुने मन्त्री खतिवडाले स्पष्ट पार्नुभयो । चालू खर्चभित्र मानवीय पूँजी विकासका तालीमलगायत हुने उहाँको भनाइ थियो । सहुलियतपूर्ण वैदेशिक सहायता लिने गरिएकाले सही उपयोग एवम खर्च गरी निर्भरता घटाउँदै लैजानुपर्ने र राजश्व बढाउँदै जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।

दायित्व बढी भएका स्थानमा बजेट पनि त्यही अनुपातमा हुने भएकाले तल बजेट बढाउन दायित्वसमेत वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । सहुलियतपूर्ण ऋणलगायत आयोजना उद्देश्य पूरा नभएसम्म चलिरहन्छ ।