जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०७:३१

ओली सरकारको उपहार, असारभित्र डोल्पाको दुनैसम्म सडक


जाजरकोट, जेठ २८

जाजरकोट–डोल्पा सडक खण्ड निर्माण असार मसान्तसम्म पूरा हुने भएको छ । हाल डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरसम्म मात्र सडक निर्माण गरिएको छ । असार मसान्तसम्म ११८ किलोमिटर सडक निर्माण पूरा हुने निर्माणमा संलग्न नेपाली सेनाले जनाएको छ । निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीका अनुसार विसं २०६१ मा सल्यानको सल्ली बजारदेखि निर्माण थालिएको भेरी करिडोर करीब १५ वर्षपछि डोल्पा सदरमुकाम दुनैसम्म पुग्ने भएको छ । त्रिपुराकोटदेखि दुनैसम्मको १४ दशमलव तीन किलोमिटर सडक स्तरोन्नतिको काम शुरु भएको छ ।

जाजरकोट–त्रिपुरोकोट बगरसम्मको सडकको ट्रयाक खोल्ने काम गत मङ्सिरमा भएको हो । “सडक निर्माण असार मसान्तसम्म पूरा गरी सडक विभागको जिम्मा लगाउने तयारी भइरहेको छ”, पहाडीले भन्नुभयो । सुँ पानीदेखि दुनैसम्मको सडक निर्माण तत्कालीन जिल्ला विकास समितिले गरेको हो । उक्त सडक साँघुरो हुँदा थप स्तरोन्नतिको काम सेनाले गरिरहेको छ । भेरी नदीमा १४ पुल निर्माण बाँकी नै छ । कच्ची सडक निर्माण भएकाले हलुका सवारी साधन मात्र सञ्चालनमा छन् । “पुल निर्माण नहुँदासम्म डोल्पामा सिधा यातायात सञ्चालन हुने अवस्था छैन”, सांसद सत्य पहाडीले भन्नुभयो । जाजरकोट–डोल्पा सडक खण्डमा विस्फोटक पदार्थ विस्फोटन गरी सडक खन्ने काम भएको हो ।

भेरीमा चार ठूला पुल निर्माण बाँकी नै छ । जाजरकोट खण्डमा दुई पुल निर्माण गर्न बाँकी छ । अहिले स्थानीय तहको पहलमा सडक मर्मत गरी यातायातका साधन सञ्चालन गरिँदै आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । दुनैबाट तेन्जे मरिम्ला हुँदै तिब्बत जोड्ने लक्ष्य रहेको उक्त सडक निर्माण अहिलेको बजेट भाषणमा समेत समेटिएको छ । त्रिपुराकोट लिकुँका हिरालाल पहाडी कच्ची बाटोमा पुराना जीप गुडाउँदा दुर्घटनाको जोखिम बढेको बताउनुहुन्छ ।

खलङ्गादेखि २० कोष उत्तरपूर्वको बारेकोट गाउँपालिका जोड्ने सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । जिरो विन्दु ध्यापाटाकुरादेखि गाउँपालिका केन्द्र लिम्सासम्मको १३ किलोमिटर सडकमध्य साढे ११ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ । सडक बने समस्या विस्तारै हट्दै जाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

“अब साँघुरो सडकलाई चौडा बनाउने काम अगाडि बढ्छ” उहाँले भन्नुभयो । गाउँपालिकाले उक्त सडक निर्माणमा रु छ करोड खर्च भएको जनाएको छ । सडक विस्तारले स्थानीवासीको दैनिकी फेरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । “अब जुम्लासँग सडक जोड्न सजिलो भएको छ”, उहाँले भन्नुभयो । सरकारले यो सडक निर्माणलाई निकै प्राथमिकतामा राखेर काममा नियमित अनुगमन गर्दै आएको छ ।