जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०९:१२

काठमाडौंको थलीमा लाग्यो ‘सडक निर्माण छिटो सक, स्थानीय सरकार मुर्दावाद’ को नारा


काठमाडौं, जेठ २८

सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरुले प्रदर्शन गरेका छन् । आज बिहानैबाट भएको प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुलेसडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् । स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन् ।

आक्रोसित युवाहरुले सडकमा टायर बालेर अवरोध पुर्याएका हुन । प्रदर्शनकारीले ‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडक अवरोध गर्दै प्रदर्शन गरेका हुन । उनीहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका छन् । सडक अवरोधका कारण सवारी आवागमन ठप्प भएको छ । थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन ।

यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो । प्रदर्शनलगत्तै ठेकेदारले काम अघि बढाएको थियो ।