जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १८:३५

यति निर्दलीय गतिविधि कहिले देखेको थिइन : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ १७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र यति निर्दलीय गतिविधि कहिले नदेखेको बताउनु भएको छ । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल समुहले अन्तर्घात गरेर एमालेलाई कमजोर बनाएको र अत्यन्तै निर्दलीय चरित्र देखाएको बताउनु भएको हो । उहाँले माधव नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको पनि बताउनुभयो ।

‘उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो, लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय, अदालतमा प्रस्तुत भए’ उहाँले भन्नुभयो, ‘विधि, पद्धति, प्रक्रिया भन्ने यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत भए । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने ! यस्ता अन्तर्घातीको वैशाखी टेकेर हिँडने ? त्यो कतिञ्जेल टिक्छ ? कारबाही भइहाल्छ, जनता समाजवादी पार्टीमा पनि त्यस्तै छ ।’

त्यस्तै एक अर्को प्रसंगमा उहाँले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर केही अधिबक्ताहरुले वितण्डा मच्चाइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने भन्दै प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’ त्यस्तै कार्यक्रममा पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने बताउनुभयो ।