जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १५:०४

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम


नयाँ दिल्ली, जेठ २८

दिल्लीको इतिहासमा हिजो तापमान पहिलो पटक ४८ डिग्री सेल्सियस पुगेको छ । पालम क्षेत्रमा तापमान ४८ डिग्री रेकर्ड गरिएको छ । आइतबार राजधानीमा तापमान ४७.८ डिग्री रहेको थियो । दिल्लीकै सफदरगन्जमा तापमान ४५.६ डिग्री पुगेको थियो । भीषण गर्मीको असर पुरै देशले भोगिरहेको छ । कैयौ राज्यमा पीउने पानीको समेत कमी भएको छ । जलाशय सुकिसकेको छ र थोपा थोपाका लागि मानिस कैयौ किलोमिटर परसम्म धाउन बाध्य भएका छन् ।

यो भन्दा पहिले पालम क्षेत्रमा गर्मी २०१४ को जुनमा यो तहमा पुगेको थियो । दिल्लीमा उक्त समयमा तापमान ४७.८ डिग्री रहेको थियो । भारतीय मौषम विभाग (आईएमडी) का अनुसार आगामी २ दिनको अवधिमा पनि दिल्लीमा तापमान कमी हुने कुनै सम्भावना छैन । मौषम विभागले सोमबार दिल्लीमा तापमान ४५ डिग्री भन्दा माथि जान सक्ने बताएको थियो ।

दिल्लीका अतिरिक्त उत्तर भारतीय राज्य राजस्थानमा तापक्रम ४५ डिग्री सेल्सियसको आसपासमा रहन सक्ने देखिएको छ । मध्य प्रदेश, हरियाणा, चन्डीगढ तथा दिल्लीमा पनि तापमान यही हाराहारीमा रहने अनुमान गरिएको छ । पश्चिमी मध्य प्रदेश तथा उत्तर प्रदेशका केही क्षेत्रमामा पनि तापक्रम ४५ डिग्री सेल्सियस रहन सक्छ । दिल्लीको असापासको क्षेत्रमा आकास खुला रहने तथा तातो हावाको प्रभाव पनि रहने मौषम विभागले जनाएको छ ।

दिल्ली, दक्षिण उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, हरियाणा, चन्डीगढ लगायतका राज्यमा लगातार दुई दिन सम्मि तातो हावाको प्रभाव रहने मौषम विभागले जनाएको छ ।राजस्थानको गंगानगरमा तापमान ४८.५ डिग्री सेल्सियस रहेको छ । उत्तर–पूर्वी भारतमा मंगलबारसम्म मनसुन आउन सक्ने अनुमान गरिएको छ । यहाँ मनसुनका कारण मौषम सामानयमा आउन सक्ने बताइएको छ ।