जनता टाइम्स

२२ जेष्ठ २०७८, शनिबार १५:३३

प्रधानमंत्रीको दृढ राजनीतिक संकल्पलाई सधै साथ दिने निवर्तमान संचारमन्त्री गुरुङको घोषणा, मन्त्रीपरिषद बिस्तारको स्वागत



काठमाडौँ, २२ जेठ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले) का केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकामा स्वागत गर्दै नवनियुक्त मन्त्रीहरुलाई बधाई र कार्यकाल सफलताको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गर्नुभयो ।
उहाँले निवर्तमान सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गर्नुभयो ।

कोभिड— १९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरेको स्पष्ट पनि गर्नुभएको छ । उहाँले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेको बताउँदै परिणामस्वरुप १९ महिने कार्यकालमा कुनैपनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शीर झुकाउनु र पश्चाताप गर्नु नपरेको भन्नुभएको छ । उहाँले नयाँ मन्त्रीहरुलाई बधाई दिँदै कार्यकाल सफलताको कामना पनि गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ – सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री तथा प्रवक्ताको जिम्मेवारीबाट विदा भएको छु । मलाई विश्वास गरी यो जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने क्रममा महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उल्लेखनीय कार्य गर्नका लागि मलाई सहयोग गर्नुहुने राजनीतिकर्मी, सञ्चारकर्मी, आम नागरिक, विषयविज्ञ, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघसंस्था तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

हामी यतिबेला कोभिड— १९ महामारीको कारण यो पुस्ताकै सवैभन्दा भयावह मानवीय संकटको सामना गरिरहेका छौं । यसवीच सरकार परिवर्तनको खेल, अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या पनि अनिश्चितामा गुज्रिरह्यो । कुनै पनि दिन मन्त्रालयको कामको सिलसिलामा अन्तिम काम गर्ने दिनको रुपमा लिनुपर्ने स्थिति रह्यो । जतिदिन जिम्मेवारी काँधमा आउँछ, त्यति दिन कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भइरहेँ ।

कोभिड—१९ को पीडामा परेकाहरुको उद्धार, उपचार र सहयोग प्रमुख जिम्मेवारी हुँदाहुँदै आफ्नो क्षमताले भ्याएसम्म उक्त जिम्मेवारीलाई प्राथमिकतामा राखेर सम्पादन गरेँ । त्यससँगै मन्त्रालयको कामलाई विशेष ढंगले इमान्दारीपूर्वक सम्पादन गरियो ।

मन्त्री मात्र हैन, एउटा राजनीतिक पार्टीको जिम्मेवार सदस्य भएको नाताले म र मेरो पार्टी नेकपा एमाले, सरकार र सम्माननीय प्रधानमन्त्रीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेँ । परिणामस्वरुप मेरा १९ महिने मन्त्रीको कार्यकालमा कुनैपनि पक्षले नकारात्मक टिप्पणी, आलोचना गर्ने मौकाको अवसर नदिई मेरो पार्टीे, सम्माननीय प्रधानमन्त्रीज्यू, दोलखावासी जनसमुदाय, शुभचिन्तक, समर्थक र आफन्तहरुले शीर झुकाउनु र पश्चाताप गर्न परेन । यसैलाई नै मैले उपलब्धी र आफ्नो सम्पत्ति ठानेको छु । यसलाई पार्टी, सरकार र दोलखावासीले पक्कै मनन् गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्तमा, मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद पुनर्गठन गर्नु भएकोमा हार्दिक स्वागत गर्दछुु । नवनियुक्त मन्त्रीज्यूहरुलाई हार्दिक बधाईँ ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । साथै, समृद्ध नेपालको यात्रामा अविचलित रुपमा लागिरहने र सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ राजनीतिक संकल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण गर्दछु ।

उहाँले जतिदिन जिम्मेवारी काँधमा आउँछ, त्यति दिन कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित रहने समेत बताउनुभएको छ ।