जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १६:२०

सार्वजनिक रेल चढेर फ्रान्स जाँदै प्रधानमन्त्री ओली, टुंगो लाग्यो फ्रान्सेली समकक्षीसँगको भेटवार्ता


काठमाडौं, जेठ २८

बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फ्रान्सले उच्च सम्मान दिने भएको छ । स्विजरल्याण्डबाट बेलायत भ्रमणमा पुग्नुभएका भएका प्रधानमन्त्री ओलीले अव फ्रान्सको भ्रमण गर्दै हुनुहुन्छ । फ्रान्स भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग बिहिवार औपचारिक वार्ता गर्ने तय भएको छ ।

दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने र एक घण्टासम्म चल्ने बताइएको छ । वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७० औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । लामो समयपछि नेपालमा स्थिर सरकार रहेको, संविधान बनेको र अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने बताइएको छ ।

दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुनेछ । रात्रीभोजकै क्रममा नेपाल र फ्रान्सको संसदीय मैत्री संघका बीच के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । प्रधानमन्त्री ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिनुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ । पेरिस आए लगत्तै यहाँको उद्योग वाणिज्य महासंघ (मुभमँ देजँथरफ्रिज द फँस) का अधिकारीहरुसित संयुक्त लगानीका विषयमा छलफल हुँदै छ ।

नेपालमा लगानीकालागि उपयुक्त वातावरण बनेकाले फ्रान्सेली उध्योगी व्यवसायीहरुलाई लगानीकालागि आस्वस्त पार्ने जानकारी फ्रान्सकालागि नेपाली राजदूत दिपक अधिकारीले दिनुभयो । प्रधानमन्त्री ओली बेलायतबाट सार्वजनिक रेलमार्फत फ्रान्स भ्रमणमा जाने तय भएको भ्रमण दलमा रहेका सदस्यहरुले बताएका छन ।