जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १७:१०

मूल विषयमा प्रवेश नै नगरी टुंगियो संवैधानिक इजलास


काठमाडौं, जेठ २३

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आज पनि संवैधानिक इजलास उठेको छ । पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन पाएन ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो । प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिए पनि बहस त्यसमै केन्द्रितभयो । चिया ब्रेकपछि सरकार पक्षका वकिलले बोल्न खोज्दा बेञ्चबाट रोकिएको थियो ।

रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले भने सरकारको पक्षले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाए । आज इजलासकै बारेमा बहस भएकाले मुद्दामा प्रवेश नगरी न्यायाधीशहरू उठेका छन् । यसबारे कुनै आदेश आउने वा नआउने प्रष्ट पारिएको छैन ।