जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १६:३५

एनआरएनए चीनमा आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन


ग्वान्जाउ, जेठ २८

गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनमा रञ्जिता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन भएको छ । ग्वान्जाउमा हालै आयोजित कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष सुदेशकुमार झाले उहाँलाई मनोनीत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महिला फोरम सदस्यहरूमा सविता बर्तौला, रश्मि झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल छन् ।

अमृता थापा (कञ्चन) र खुश्बू अग्रवाल सल्लाहकार चुनिनुभएको छ । संयोजक आचार्यले ‘युनाइट वुमेन टु ब्रिङ अ चेन्ज’ नारासहित गठन भएको फोरमले चीनमा रहेका नेपाली महिलालाई एकजुट गराई नेपालमा महिला उद्यमको विकाससँगै शिक्षा र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो । एनआरएनए चीनका अध्यक्ष झाले आफूहरूले नेपाली महिलाको आङ खस्ने समस्या समाधानका क्षेत्रमा पहिलेदेखि काम गर्दै आएको स्मरण गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष प्रदीप न्यौपाने, महासचिव सुशील बेल्वासे, फोरम सल्लाहकार खुश्बू अग्रवाल, विष्णुहरि भण्डारीले पनि भनाई राख्नुभएको थियो । कार्यक्रममा एनआरएन हङकङको अध्यक्ष टीका गुरुङ, एनआरएन मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासबाट रक्षा पोखरेल पनि उपस्थित रहनुभएको थियो ।