२७ जेष्ठ २०७८, बिहीबार ००:००

मन्त्रिपरिषद बिस्तारलगत्तै महेश बस्नेतले दिए यस्तो सन्देश


काठमाडौं, जेठ २७ । एमाले नेता महेश बस्नेतले पद प्राप्तीको बिषयलाई लिएर आफ्नो इमानसँग तुलना नगर्न सवैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिँदा बस्नेत छुटेपछि सामाजिक सञ्जालदेखि मिडियासम्म बिभिन्न टिकाटिप्पणी आएपछि बस्नेतले आफूसँग पद प्राप्तीको अवसरवादको कहिल्यै भेट नहुने बताउनु भएको हो ।

यस्तो छ महेशको प्रतिक्रिया

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो बिषय कहिल्यै बनेन । पार्टीको नीति, नेतृव र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु । परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु । पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु । पटक पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन ।

मेरो बिरोधी साथीहरुलाई म झन धेरै धन्यवाद दिन चाहान्छु। जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि ! कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु । गुट फेर्दैछु भन्ने जस्ता समाचार लेखिरहेका छन । तेस्तो भ्रममा कोही नपरौं, म जहाँ छु, तेही रहनेछु र म जे छु, तेही छु । पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुने नै छ । पटक-पटक अग्नि परीक्षामा होमिन तयार छु ।