जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार २१:३१

विश्व प्रेस काउन्सिलद्वारा अध्यक्ष बस्नेतलाई शुभकामना


काठमाडौं, जेठ २८ । विश्व प्रेस काउन्सिलले आफ्नो सदस्य राष्ट्र रहेको प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई कार्यकाल सफलताको शुभकामना दिएको छ ।आज भएको भर्चुअल छलफलमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा. सुले अकरले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । बस्नेत गत साता नियुक्त हुनुभएको थियो ।

अध्यक्ष सुलेले अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ विश्व प्रेस काउन्सिल रहेको भन्दै सन् १९८९ को क्वालालाम्पुर घोषणापत्रमा सो कुरा उल्लेख भएको स्मरण गराउनुभयो । संस्थापक राष्ट्रहरू नेपाल, टर्की, भारत, अजरबैजानलगायतले घोषणापत्रमा उल्लेख भएको कुरालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

अध्यक्ष बस्नेतले कोरोना महामारीमा सबै राष्ट्र प्रभावित भएको भन्दै सबैको साथ, सहयोग र सहकार्यबाट नै आचारसंहितको पूर्ण पालना हुने बताउनुभयो । महामारीबाट विश्वभरका पत्रकार र सञ्चारक्षेत्र नराम्ररी प्रभावित बनेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले महामारीमा अखबार, पत्रिका, टिभी च्यानल, अनलाइन र अन्य डिजिटल मिडियाले प्रकाशन/प्रसारणमा असर परेको उल्लेख गर्नुभयो ।