जनता टाइम्स

४ असार २०७८, शुक्रबार ०८:०३

यसरी गर्न सकिन्छ जल उत्पन्न प्रकोप ब्यवस्थापन


हाम्रो देशको भौगोलिक रुपमा रहेको विषम अवस्थितिको मौलिक चरित्रलाई वुझेर हामीले सम्पन्न गर्नु पर्ने भौतिक विकास निर्माण तथा पहाडी तथा तराईका क्षेत्रमा भू–उपयोग नीति तथा योजनालाई जनमुखी ढंगले संचालन गर्न सक्नु हाम्रो अहम कर्तव्य हो । नागरिक तथा नागरिकको सम्पतिको सुरक्षाका लागि प्रथम त पानी जन्य प्रकोपको वारेमा आमनागरिकहरुमा “उथ्थानशिलता” कायम गर्न सक्नु आजको आवश्यकता हो भने सरकारले संचालन गरेका निकास पूर्वाधारहरुले वातावरणमा पार्ने प्रतिकुल प्रभाव वारे गहिरो अध्ययन गरेर मात्र दिगो विकासमा जोड दिनु हामी सबैको कर्तव्य मात्रै हुन आउँदैन कि अकालमा नेपाली जनले जीवन गुमाउनुबाट वचाउने सन्दर्भमा गतिलो प्रयास हुन सक्दछ ।

धनपति सापकोटा

नेपालको भौगोलिक अवस्था करिव–करिव ८५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । बाँकी भाग तराई, भित्री मधेशका समथर भागले ओगटेको छ । विश्व कै सबै भन्दा कान्छो पर्वतीयमाला हिन्दुकुश पर्वतको काखमा अवस्थित नेपालको भौगोलिक क्षेत्रलाई कमजोर भूगर्व क्षेत्रको रुपमा लिइन्छ । वंगालको खाडीबाट वहने जल वापयुक्त वायुका कारण हिमालय खण्ड भन्दा तलका भागमा करिव जेठ महिनाको अन्तिमदेखि असोज महिनासम्म मनसुन भईरहन्छ जसलाई हामी वर्षायाम भनेर वुझ्दछौं ।

यसपालिको मनसुन वर्षाको सन्दर्भमा मौसमविदहरुले अधिक वर्षा हुने तथा कता कतै असन्तुलन वर्षा समेत हुनसक्ने भनि अनुमान सार्वजनिक गरेका छन । यस्तो अनुमान सार्वजनिक भई सकेपछि हाम्रो जस्तो भौगोलीक विषमता भएको देशकावासीहरुले विशेष सावधानी अपनाउन जरुरी छ ।

प्रथम त काठमाडौं उपत्यकाको सन्दर्भमा जल उत्पन्न प्रकोप र त्यसबाट बच्ने उपायको सन्दर्भमा कुरा गरौं । काठमाडौं उपत्यकाका चारै तिर रहेका अग्ला पहाडहरु नै उपत्यकाका जलधार क्षेत्र हुन । सुमद्रबाट वहेर आएका जल वाष्पयुक्त वायु हिमालय पर्वतमालामा ठकर खाई फर्कने क्रममा यस उपत्यकामा पानी पर्ने गर्दछ । सामान्यतया उपत्यकामा ३३/३४ डिग्री तापक्रम चड्ने वित्तिकै वर्षा हुन्छ भन्ने पुरानो मान्यता समेत रहि आएको छ र सामान्यतया त्यस्तै हुन्छ पनि ।

काठमाडौं उपत्यकामा द्रुत गतिमा वृद्धि भई रहेको शहरीकरणका कारण काठमाडौं उपत्यका भित्र वग्ने वागमति, धोविखोला, विष्णुमति, मनोहरा, कर्मनाशा, वल्खु, नखु, टुकुचा आदि नदी तथा खहरेहरुको वहाव क्षेत्र दिनानुदिन अतिक्रमणको चपेटामा पर्न गई वहाव क्षेत्र साँगुरिदै गएको छ । वर्षाको पानीलाई सहज रुपमा ग्रहण गर्ने खुला जमिन खेत, वारी, काल्लाहरु मानव वस्तीमा रुपान्तरण हुँदै जाँदा वर्षातको पानीलाई जमिनले ग्रहण गर्ने क्षमता गुमाउँदै गई रहेको छ । शहरीकरण सँगै निर्माण भएका भौतिक संरचना तथा पक्की सडकहरुमा परेको पानी ढलको माध्यमबाट ठूलो क्षमतामा नदीसम्म पुग्ने गर्दछ । भवन क्षेत्रमा परेको पानी त करिव करिव सत प्रतिशत नै ढलको माध्यमबाट अन्ततोगत्व नदी मै प्रवाह हुन पुग्दछ ।

पानीको वहावको यस स्वभाविक प्रकृयाका कारण काठमाडौं उपत्यकाका नदीहरु जलाधार क्षेत्रमा आधा घण्टामा परेको पानीले नै हाम्रो शहरी जीवन प्रभावित गर्न सक्दछ । वर्षात अघि नै पानी पास हुने सडक किनारका मेनहोल धुलो तथा प्लाष्टिक जन्य पदार्थले वुझीन गई सकडहरु जलमग्न भई आवागमन अवरुद्ध हुनुको साथै सडक संरचना ध्वस्त हुन सक्दछ ।

नदीको वहाव क्षेत्रमा भईरहेका निर्माण कार्यका कारण पानीको वहाव अवरुद्ध हुन पुग्दा नदीको पानीको स्तर स्वत माथि उठन सक्दछ । नदी किनारका रुख, वुट्यान तथा अन्य अवरोधक सामाग्री नदीको वहाव क्षेत्रमा पर्न जाँदा पनि स्वाभाविक रुपमा नदीको पानीको स्तर माथि उठ्न जान्छ जसको कारण आवसीय क्षेत्रमा डुवानको चपेटामा पर्न गएका घटनाहरु विगतमा पनि भएकै छन् । यस्ता मसिना–मसिना कारणले पनि शहरी जीवनमा तुरुन्तै प्रतिकुल अवस्था श्रृजना हुन सक्दछ ।

घर वाहिर जाँदा घरको छतबाट पानी निकास हुने प्वालहरु खुल्ला राख्नु, घर कम्पाउण्डको पानी निकाश हुने मेनहोल सफा गरी राख्नु पूर्व सावधानी हो । ठूला–ठूला भवन संरचना आसपासबाट निष्कासन हुने पानी तथा ढलको गलत जडान तथा Misengineening का कारण पनि काठमाडौं उपत्यका भित्र डुवानको समस्या पैदा हुने गरेको छ । कम क्षमताका ढल पूर्वाधारको भरमा ठूला–ठूला भवन संरचना निर्माण गरेर निकाश दिन खोज्दा पनि यस्ता डुवानका समस्या पैदा हुने गरेका छन तसर्थ वर्षात शुरु हुन पूर्व नै निकाश पूर्वाधारको सुपरिवेक्षण गर्न जरुरी छ ।

काठमाडौं उपत्यका वाहिरका हिमनदीहरुमा वर्षातको पानीले पहिरो गई नदी थुनिन जाँदा अस्वभाविक पानी जम्मा हुने र पानि निकास भएका वखत तल्लो तटीय क्षेत्रका मानव वस्ती तथा विकाश पूर्वाधारहरुमा एकै पटकमा अकल्पनीय क्षति हुन सक्दछ ।

नेपालको पहाडी ईलाकामा निर्मित सडक पूर्वाधार, जलविद्युत परियोजना जाने सडक तथा ड्याम निर्माणको क्रममा विस्पोटक पदार्थ प्रयोग गरेर भत्काइएका पहराहरुका आसपासका पर्वतहरुको पनि भित्री भागसम्म कम्पन पुग्न गई पर्वतको गर्भभागमा असन्तुलन पैदा भएको हुन सक्दछ त्यस्ता पर्वतहरुमा बर्षातको समयमा परेको झरीले पर्वतका धाँजाहरुमा पानी पस्न गई गाउँवस्ती तथा खेती योग्य जमिनहरु नै पहिरोको चपेटामा पर्न सक्दछ । यसबाट पनि पहाडी जनधनमा ब्यापक क्षति हुन पुग्दछ ।

नेपालका भित्री मधेस तथा तराईहरुमा वर्षातको समयमा मात्र पानी वग्ने खहरे खोलाहरु प्रसस्तै मात्रमा मेची देखि कालीसम्म रहेका छन् । खास गरी महाभारत पर्वतमाला तथा शिवालिक श्रृङखलाबाट उत्पन्न हुने यस्ता खहरे खोलाहरुमा वर्षातको समयमा आउने रोडा, गिटी, वालुवा, गेग्रेन तथा रुख विरुवाको अवशेषहरु सहित वगेर आउने मिश्रित वाढीको कारण नदीका आसपासका वस्तीहरुमा मानवीय तथा पशुधनहरुमा क्षति पुर्याउनुको साथै खहरे आसपासका जमिन कटान तथा खेतीवाली डुवानका कारण वर्षेनी अरवौको क्षति व्यहोर्नु पर्ने अवस्था रहेको छ ।

तराईका क्षेत्रहरुमा खास गरी सडक पूर्वाधार निर्माणका कारण जमिनमा वर्षातको समयमा परेको पानी तथा उत्तर पहाडी भागबाट वगी आएको पानीको सहज निकाश अवरुद्ध हुन जाँदा खेतवारीमा लगाएको वालीनाली डुवानमा पर्नुको साथै तराईका हजारौ घर गोठहरु डुवानमा पर्दा मानव जीवनमा क्षति पुग्नुको साथै अरर्वौको सम्पतिमा क्षति पुग्न सक्दछ । तराईमा अवस्थित विभिन्न उद्योग धन्दा तथा कल कारखानाबाट निस्केको मानव तथा पशुधन, प्राणीहरुलाई पूतिकुल असर पार्ने केमिकल जन्य पदार्थ तराईका कृषिजन्य क्षेत्रमा विस्तार हुन जाँदा नजानिदो ढंगबाट वर्षेनी अरवौंको क्षति हुने गरेको छ । त्यस्ता केमिकलजन्य जलीय पदार्थले तराईको उर्वर जमिनको मौलिक गुणमा नै प्रहार गर्ने भएको हुँदा उत्पादनमा प्रतिकुल असर पर्न गईरहेको छ ।

तराईबाट वग्दै भारत तर्फ वग्ने नदीहरुको पर्याप्त तटवन्धन गर्ने, नदी किनारका खाली वगरहरुमा पर्याप्त वृक्षारोपण गर्ने, नदी किनारका वस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने, हुलाकी सडकहरुको उचाई कम गरी पानी निकासको लागि पर्याप्त कल्भर्ट निर्माण गर्ने, संरचनागत विकास पूर्वाधार निर्माण गर्दा पानीको निकासको पर्याप्त व्यवस्था गर्ने, तराईका शहरहरुमा पानी निकासको लागि गहिरो नालाको निर्माण गर्ने आदि गरेर पनि जलउत्पन्न प्रकोपलाई न्यूनीकरण गरेर जनधनको रक्षा गर्न सकिन्छ ।

अन्तमा हाम्रो देशको भौगोलिक रुपमा रहेको विषम अवस्थितिको मौलिक चरित्रलाई वुझेर हामीले सम्पन्न गर्नु पर्ने भौतिक विकास निर्माण तथा पहाडी तथा तराईका क्षेत्रमा भू–उपयोग नीति तथा योजनालाई जनमुखी ढंगले संचालन गर्न सक्नु हाम्रो अहम कर्तव्य हो । नागरिक तथा नागरिकको सम्पतिको सुरक्षाका लागि प्रथम त पानी जन्य प्रकोपको वारेमा आमनागरिकहरुमा “उथ्थानशिलता” कायम गर्न सक्नु आजको आवश्यकता हो भने सरकारले संचालन गरेका निकास पूर्वाधारहरुले वातावरणमा पार्ने प्रतिकुल प्रभाव वारे गहिरो अध्ययन गरेर मात्र दिगो विकासमा जोड दिनु हामी सबैको कर्तव्य मात्रै हुन आउँदैन कि अकालमा नेपाली जनले जीवन गुमाउनुबाट वचाउने सन्दर्भमा गतिलो प्रयास हुन सक्दछ ।

लेखक : (नगर प्रहरी महाशाखा प्रमुखमा कार्यरत हुनुहुन्छ)