सिन्धुपाल्चोक, असार ५ । हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा बाढी र पहिरोमा परी २३ जना बेपत्ता भएको जनाएको छ । असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी २३ जना वेपत्ता भएको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाले आज विज्ञप्ति निकालेर चार महिलासहित २३ जना बेपत्ता भएको जानकारी दिएको छ । बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेका छन । गाउँपालिकाका अनुसार बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
हेलम्बू गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन पनि अपिल गरेको छ । हेलम्बु–१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको जानकारी विपद् विज्ञ डा. रविनराज निरौलाबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सो ठाउँमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने र मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुन अपिल गरेको हो ।
‘हाल २५ प्रतिशत मात्रै पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने एकिन नभएकाले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन समेत जानकारी गरिन्छ,’ गाउँपालिकाले भनेको छ ।

















प्रतिक्रिया दिनुहोस्