जनता टाइम्स

६ असार २०७८, आईतवार १२:०२

कोरोना खोप अभियानमा हिडेकी स्वास्थ्यकर्मी मृत फेला


काठमाडौं, असार ६

डडेल्धुुरामा कोरोना खोप अभियानमा खटिनु भएकी स्वास्थ्यकर्मी अस्मितादेवी धामी मृत फेला पर्नुभएको छ । परशुराम–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा करारमा कार्यरत २६ वर्षकी अस्मितादेवी धामीको शनिबार परशुराम–९ को हट्यानी सामुदायिक वनमा शव फेला परेको छ । धामी असार २ गतेदेखि बेपत्ता हुनुभएको थियो ।

भेरोसिल खोप अभियान सकाएर कार्यालयबाट कोरोनाको बचेका खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल निस्कनु भएको थियो तर ३ दिनदेखी सम्पर्कमा नआएपछि उहाँको ससुराले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको र त्यसपछि स्थानिय र प्रहरीले खोजी गर्दा शनिबार विहान ११ः३० बजे वनमा शव भेटिएको थियो ।

भ्याक्सिन क्यारियर बक्ससहित मानिस आवातजावत गर्ने बाटैमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँले धामीको शरीरमा नीलडाम रहेको, चिउँडोमा चोट लागेको अवस्थामा शव भेटिएको जानकारी दिँदै घटनाबारे छानवीन भइरहेको बताउनुभयो । सहकर्मी हत्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।